कक्षा १० नेपाली पाठ १३ पख्नोस् (निबन्ध) को सम्पूर्ण अभ्यास समाधान। भैरव अर्यालद्वारा रचित यस हास्यव्यङ्ग्यात्मक निबन्धमा समाजमा व्याप्त पर्खाइको संस्कृति, ढिलासुस्ती, कुराले मात्र टार्ने प्रवृत्ति र कर्महीनतामाथि तिखो व्यङ्ग्य गरिएको छ। पाठको सार, शब्दार्थ, शब्दभण्डार, बोध र अभिव्यक्ति तथा व्याख्याको सम्पूर्ण समाधान SEE २०८३ को तयारीका लागि उपयुक्त छ।
शब्दभण्डार
१. दिइएका अनुकरणात्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस् :
ख्वाङख्वाङ – खोक्नु
गजक्क – पर्नु
ङिच्च – हाँस्नु
लस्याङलुसुङ – गर्नु
जम्स्याङजुम्सुङ – हुनु
२. 'पख्नोस्' निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
· सम्पादक – सम्पादक ले नयाँ लेखकहरूलाई प्रोत्साहन गर्नुपर्छ ।
· वैज्ञानिक – वैज्ञानिक ले नयाँ प्रविधिको खोज गरे ।
· मरुभूमि – मरुभूमि मा वर्षौँसम्म वर्षा हुँदैन ।
· आणविक – आणविक शक्तिको सदुपयोग गर्नुपर्छ ।
· पुराण – हाम्रा हजुरबुबा पुराण पढ्न रुचाउनुहुन्छ ।
३. शब्दकोशको प्रयोग गरी दिइएका शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ लेख्नुहोस् :
शिक्षा :
पाठ्यक्रम – खास शैक्षिक सत्रभित्र सिकाउन सकिने विषय वा विषयहरूको योजना
मूल्याङ्कन – उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण, परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको स्तर अङ्कद्वारा तय गर्ने काम
पुनर्बल – अझ सबल हुने काम वा प्रक्रिया
पुस्तकालय – सार्वजनिक रूपले इच्छुक पाठकले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा ठाउँ
शिक्षालय – शिक्षार्थीहरूले शिक्षा प्राप्त गर्ने ठाउँ वा भवन, शिक्षा दिने वा पढाउने संस्था
वाणिज्य :
वासलात – संस्थाको वार्षिक आम्दानीखर्चको विवरण
भौचर – लेनदेन, बिक्री आदि कारोबारमा नगद बुझाएको प्रमाणका रूपमा दिइने कागज
फस्यौट – लेनदेन वा किनबेचको हिसाब चुक्ता गर्ने काम
आयव्यय – आम्दानी र खर्च
बेरुजु – आर्थिक कारोबार हेर्दा वा जाँच्ता लेखा परीक्षणले दर्साएको अनियमित कलम
बजेट – आगामी समयमा भिन्न भिन्न विभाग वा कार्यका लागि अनुमान गरिएको आयव्ययको लेखा, भविष्यमा हुने खर्चको अनुमानित विवरण
निक्षेप – आर्थिक कारोबार गर्ने संस्थाको सेयर किन्न पैसा हाल्ने काम, बैङ्कको खातामा जम्मा गरिने रकम वा धन
४. दिइएको अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस् :
उत्तर:
ओहो ! अब त मेरो एकोहोरो फतफताइ अति नै भयो । तपाईंलाई कति भक्र्को लाग्यो होला हाकि ? तर साह्रै नै भक्र्को लागेको भए त एक चुस्की चिया पिउनुस् । अनि तपाईं नै भन्नोस्, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति घोल्लिरहुन्, वैज्ञानिक जति घोट्टिरहुन् मलाई त लाग्छ, बाँच्नुको पर्याय नै पर्खनु हो ।
मौलिक शब्दहरू: ओहो, चिया, हेनाँस्, सूर्यदर्शन, साइत
५. 'पख्नोस्' निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
· किन्सरी तात्नु – दिनभरि खेलेर पढ्न नबसेको देखेपछि भाइप्रति बुबाको किन्सरी तात्यो ।
· आगलागी हुनु – बिजुलीको तार सर्ट भएकाले हिजो राति बजारका दुईवटा पसलमा भीषण आगलागी भयो ।
· पानीमरुवा हुनु – सानो अप्ठ्यारो परिस्थिति आउनेबित्तिकै पछाडि हट्ने पानीमरुवा मान्छेले कहिल्यै प्रगति गर्न सक्दैन ।
· जङ चल्नु – पटकपटक सम्झाउँदा पनि काम नबनाइदिएपछि मलाई उनीमाथि एक्कासि जङ चल्यो ।
· दाउ हेर्नु – बिरालो मुसालाई समात्न खाटमुनि ढुकेर दाउ हेरिरहेको छ ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
उत्तर:
सम्भाव्य, आश्वासन, ऋण, दार्शनिक, जम्स्याङजुम्सुङ, वकन्याइ, पखाइ, आणविक, भय्याङ, गिज्याउनु
२. 'पख्नोस्' निबन्ध पालैपालो सस्वरवाचन गर्नुहोस् ।
उत्तर: शिक्षकअनुसार गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
· (क) निबन्धमा सबैभन्दा लामो अनुच्छेद कति वाक्यमा संरचित छ ?
उत्तर: निबन्धमा सबैभन्दा लामो अनुच्छेद १३ वाक्य (नवौं अनुच्छेद) मा संरचित छ ।
· (ख) पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद कुन हो ?
उत्तर: पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद नवौं हो ।
· (ग) निबन्धको कतिऔं अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ ?
उत्तर: निबन्धको नबौं अनुच्छेद (ओहो ! अब त मेरो...) विस्मयसूचक शब्दबाट सुरु भएको छ ।
· (घ) निबन्धका 'आउँदै गर्नुहोला', 'धाउँदै गर्नुहोला' पदावलीमा असमान संरचना भएको अक्षर कुन हो ?
उत्तर: निबन्धका 'आउँदै गर्नुहोला', 'धाउँदै गर्नुहोला' पदावलीमा असमान संरचना भएको अक्षर 'अ' र 'ध' हो ।
४. दिइएको निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
· (क) निबन्धांशका आधारमा 'म' पात्रमा कस्ता कस्ता विशेषता पाइन्छन् ?
उत्तर: 'म' पात्रमा धैर्यवान्, आत्मविश्वासी, सकारात्मक सोच भएको, व्यङ्ग्यात्मक शैलीको, जीवनलाई दार्शनिक दृष्टिले हेर्ने र पर्खाइलाई जीवनको अभिन्न अङ्ग मान्ने विशेषता पाइन्छन् ।
· (ख) जङचल्दा पखाइलाई किन जुम्स्याइको जन्मदाता भनिएको हो ?
उत्तर: जङचल्दा पखाइलाई जुम्स्याइको जन्मदाता भनिएको हो किनभने यही पर्खाइको क्रममा मानिस दुब्लो र मर्न्यासें हुँदै जान्छ । निरन्तर पर्खाइले मानिसलाई जुम्सो बनाउँछ ।
· (ग) 'म' पात्रले कुन कुन कामका लागि पखाइको सामना गर्नुपरेको छ ?
उत्तर: 'म' पात्रले काममा गएकी आमालाई, जागिरमा गएका बाबुलाई, पाठ दिने गुरुलाई, माया दिने मान्यजनलाई, जागिर पाउने आश्वासनलाई, तलब पाइने दिनलाई, ओखती गर्ने उपचारकलाई, विदा दिने निर्देशकलाई, पैसा दिने मालिकलाई, लुगा सिउने सूचीकारलाई पर्खनुपरेको छ ।
· (घ) निबन्धांशमा भने जस्तै सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न के गर्नुपर्ला ?
उत्तर: सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न समयको पालना गर्ने बानी बसाल्नुपर्छ । प्रतिबद्धता र जिम्मेवारीप्रति इमानदार हुनुपर्छ । काम समयमै गर्ने संस्कृति विकास गर्नुपर्छ ।
५. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
· (क) अनुच्छेदमा शिक्षित मानिसलाई कस्तो व्यङ्ग्य गरिएको छ ?
उत्तर: अनुच्छेदमा शिक्षित मानिसहरू चिल्लो शब्द प्रयोग गर्छन् तर काम गर्दा भने पर्खाउने काम गर्छन् भनी व्यङ्ग्य गरिएको छ । उनीहरू सभ्य देखिन चिल्ला शब्द बोल्छन् तर व्यवहारमा पर्खाउने काम गर्छन् भन्ने व्यङ्ग्य गरिएको छ ।
· (ख) कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन हामीले के गर्नुपर्ला ?
उत्तर: कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन समयको महत्त्व बुझ्नुपर्छ । प्रतिबद्धता अनुसारको काम समयमै गर्ने बानी बसाल्नुपर्छ । इमानदारिता र जिम्मेवारीबोध विकास गर्नुपर्छ ।
६. दिइएको अनुच्छेदबाट तीनओटा बोध प्रश्न बनाई तिनको उत्तर लेख्नुहोस् :
बोध प्रश्नहरू:
· (क) मानिस र वनस्पतिबिचको सम्बन्ध कस्तो छ ?
उत्तर: मानिस र वनस्पतिबिच गहिरो सम्बन्ध छ । मानिसको बाँच्ने आधार वनस्पति हो ।
· (ख) मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत के हो ?
उत्तर: माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति हो ।
· (ग) मानिसको अस्तित्वका लागि वनस्पतिको योगदान कस्तो छ ?
उत्तर: मानिसको अस्तित्वका लागि वनस्पतिको योगदान महत्त्वपूर्ण छ । हरिया वनस्पतिले अक्सिजन उत्पादन गर्छन् जुन मानिसलाई सास फेर्न अनिवार्य छ ।
७. 'पख्नोस्' निबन्धको अन्तिम दुई अनुच्छेदको सारांश लेख्नुहोस् :
सारांश :
जीवनको पर्याय : पर्खाइ
हामी दुवै त्यस्तो दुनियाँ सिर्जना गर्न चाहन्छौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् । भुल्याएर फुलाउने, लकाएर पर्खाउने परम्परा नहोस् । तर यो चाहना पूरा हुँदैन, पर्खनुपर्छ । मेरो पर्खाइ पुराण सकिन्छ्यो, अब कतिबेर पर्खाऊँ । तपाईंकी श्रीमतीज्यू घरमा पर्खिरहेकी होलिन् । आउँदै गर्नुहोला, धाउँदै गर्नुहोला । कुनै दिन म लेख लेख्ने प्रयास गर्ला । लौ त नमस्ते !
अनुच्छेदमा भएको शब्द सङ्ख्या : १५६
एक तृतीयांशमा हुनुपर्ने शब्द सङ्ख्या : ५२
एक तृतीयांशमा भएको शब्द सङ्ख्या : ५२
८. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
· (क) 'पख्नोस्' निबन्धको विषयवस्तुमाथि प्रकाश पार्नुहोस् ।
उत्तर: 'पख्नोस्' निबन्धमा लेखकले समाजमा व्याप्त पर्खाइको संस्कृतिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । मानिसहरूले जीवनका हरेक क्षेत्रमा पर्खनुपर्ने बाध्यता रहेको कुरा उठाएका छन् । जन्मदेखि मृत्युसम्म पर्खाइको सामना गर्नुपर्ने यथार्थलाई दर्शाएका छन् । साथै उनले पर्खाइको अन्त्य गर्ने सन्देश पनि दिएका छन् ।
· (ख) निबन्धको 'सत्य, समता र शान्ति पर्खंदै आएको मानिस भनू न विषमताको विषले बौलाहिरहेछ, अशान्त भइरहेछ ।' भन्नुको तात्पर्य के हो ?
उत्तर: यसको तात्पर्य मानिसहरू सत्य, समता र शान्तिको पर्खाइमा छन् तर विषमता र असमानताले उनीहरूलाई अशान्त बनाइरहेको छ । पर्खाइको थकानले मानिसलाई मानसिक रूपमा असन्तुलित बनाउँदै लगेको छ भन्ने हो ।
· (ग) निबन्धमा मानिसका कस्ता कमीकमजोरीप्रति व्यङ्ग्य गरिएको छ ?
उत्तर: निबन्धमा मानिसहरूको ढिलासुस्ती, समयको पालना नगर्ने बानी, चिल्लो शब्द बोल्ने तर व्यवहारमा काम नगर्ने प्रवृत्ति, अरूलाई पर्खाउने स्वभाव, पलायनवादी सोच र प्रतिबद्धताहीनताप्रति व्यङ्ग्य गरिएको छ ।
· (घ) यस निबन्धबाट कस्तो सन्देश पाउन सकिन्छ ?
उत्तर: यस निबन्धबाट समयको महत्त्व बुझ्नुपर्छ, अरूलाई पर्खाउनु हुँदैन, प्रतिबद्धता पूरा गर्नुपर्छ, ढिलासुस्ती त्याग्नुपर्छ र आफ्नो कर्तव्य इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्ने सन्देश पाउन सकिन्छ ।
९. व्याख्या गर्नुहोस् :
· (क) सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् ।
उत्तर:
प्रस्तुत गद्यांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'पख्नोस्' शीर्षकको हास्यव्यङ्ग्य निबन्धबाट उद्धृत गरिएको हो। यसका रचनाकार प्रसिद्ध व्यङ्ग्यकार भैरव अर्याल हुन्। उहाँ हास्यरसका माध्यमबाट समाजका विसंगतिमाथि तिखो प्रहार गर्न सिपालु मानिन्छन्। निबन्धकारले प्रस्तुत निबन्धमा मानव जीवनको अनिवार्य नियति बनेको 'पर्खाइ' को प्रसङ्ग जोड्दै व्यक्तिका अनगिन्ती सपना र इच्छा-आकाङ्क्षाहरू सामाजिक तथा प्रशासनिक ढिलासुस्तीका कारण ओझेलमा परेको यथार्थ व्यक्त गर्ने क्रममा प्रस्तुत भनाइ ल्याएका हुन्।
मानव जीवन आशा, सपना र आकाङ्क्षाहरूको पुञ्ज हो। मानिसले आफ्नो जीवनमा केही बन्ने, केही गर्ने र समाजलाई केही दिने अनगिन्ती सपनाहरू देखेको हुन्छ। तर ती सपना र इच्छाहरूलाई पूरा गर्ने बाटोमा अनेकौँ पर्खाइहरू तम्सिएर बसेका हुन्छन्। निबन्धकारका अनुसार बाल्यकालदेखि नै मानिसले आमाबुबा, गुरु, मान्यजन, जागिर, तलब, ओखती र मालिकको आश्वासनलाई पर्खँदा-पर्खँदै आफ्नो अमूल्य समय बिताउनुपर्छ। यी सम्पूर्ण बाह्य पर्खाइहरूको पछाडि व्यक्तिका वैयक्तिक सपना, प्रगति र उज्ज्वल भविष्यका आकाङ्क्षाहरू पिसिएका हुन्छन्। सामाजिक तथा व्यवस्थापकीय ढिलासुस्ती र कुराले मात्र टार्ने प्रवृत्तिका कारण मानिसका सम्भावनाहरू समयमै फुल्न पाउँदैनन्।
यसरी निष्कर्षमा, मानिसका आकाङ्क्षा र सपनाहरू पर्खाइकै चक्रव्यूहभित्र बन्दी बनेका छन् भन्ने तीतो सत्यलाई यहाँ उजागर गरिएको छ। पर्खाइले मानिसका आकाङ्क्षाहरूलाई अगाडि बढ्न नदिई कुण्ठित बनाउँछ भन्ने मुख्य आशय प्रस्तुत गद्यांशमा व्यक्त गरिएको छ।
· (ख) हामी दुवै चाहन्छौँ एउटा त्यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् !
उत्तर:
प्रस्तुत पङ्क्ति कक्षा १० को नेपाली पाठ्यपुस्तकमा सङ्कलित 'पख्नोस्' शीर्षकको हास्यव्यङ्ग्यात्मक निबन्धबाट साभार गरिएको हो। यसका रचनाकार शीर्षस्थ हास्यव्यङ्ग्यकार भैरव अर्याल हुन्। उहाँ निबन्ध विधामा व्यङ्ग्यात्मक शैली र चोटिला शब्दको प्रयोग गर्न खप्पिस मानिन्छन्। निबन्धकारले प्रस्तुत निबन्धमा समाजमा व्याप्त फोस्रा आश्वासन, कुराले मात्र काम टार्ने चापलूसी प्रवृत्ति र जालेमाले परम्पराप्रति तिखो व्यङ्ग्य गर्दै एक आदर्श, पारदर्शी र कर्मशील समाजको कल्पना गर्ने क्रममा यो भनाइ प्रस्तुत गरेका हुन्।
हाम्रो समाजमा काम गर्नुभन्दा कुराले टार्ने, 'हुन्छ-हुन्छ' भनेर अल्मल्याउने र काम नगरी पर्खाउने प्रवृत्ति निकै झाङ्गिएको छ। सम्पादकले लेख माग्दा लेखकले 'पर्खनोस्' भन्दै अल्झाउनु र पत्रिका छापिएपछि सम्पादकले पारिश्रमिक वा पुरस्कार दिन 'आजभोलि' भन्दै भुलाउनु यसै प्रवृत्तिका उदाहरण हुन्। मानिसहरू कामको सट्टा ओठे प्रतिबद्धता र चिल्ला शब्द प्रयोग गरेर दायित्वबाट पन्छिन खोज्छन्। यस्तो जालेमाले र ढिलासुस्तीको परम्पराले कसैको पनि भलो गर्दैन। त्यसैले निबन्धकार लेख्ने र छाप्ने (अथवा सेवा दिने र लिने) दुवै पक्ष मिलेर कुरामा होइन, काममा विश्वास गर्ने पारदर्शी समाजको निर्माण गर्नुपर्छ भन्ने विचार व्यक्त गर्छन्।
यसरी निष्कर्षमा, फोस्रा कुरा र झुटा आश्वासनले भरिएको परम्परालाई तोडेर कर्मप्रधान दुनियाँ सिर्जना गर्नुपर्छ भन्ने सन्देश दिइएको छ। शब्दमा भन्दा कर्ममा स्पष्टता र तत्परता हुनुपर्छ भन्ने यथार्थलाई यस पङ्क्तिमा प्रस्तुत गरिएको छ।
१०. 'पख्नोस्' निबन्धमा हाम्रा समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ, समीक्षा गर्नुहोस् ।
नेपाली साहित्यका शीर्षस्थ हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालद्वारा लिखित 'पख्नोस्' एक अत्यन्तै रोचक, विचारोत्तेजक र सामाजिक व्यङ्ग्यले भरिएको निबन्ध हो। मौलिक हास्यचेत र तीक्ष्ण व्यङ्ग्य पस्कन पोख्त अर्यालले यस निबन्धमार्फत नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको ढिलासुस्ती, झुटा आश्वासन, काम पन्छाउने प्रवृत्ति र 'पर्खनु र पर्खाउनु' लाई नै जीवनको पर्याय बनाउने विकृतिमाथि सशक्त व्यङ्ग्य प्रहार गरेका छन्।
निबन्धमा मुख्य रूपमा सम्पादक र लेखकबिचको 'लेख माग्ने र पर्खाउने' प्रसङ्गलाई माध्यम बनाएर समग्र सामाजिक, प्रशासनिक र वैयक्तिक कमजोरीहरूलाई नाङ्गो पारिएको छ। समाजका हरेक क्षेत्रमा मानिसहरू दायित्वबाट पन्छिनका लागि चिल्ला र सभ्य शब्दका रूपमा 'पर्खनोस्' भन्ने शब्द प्रयोग गर्छन्। जरसाहेबकहाँ जागिर माग्न जाने होस् वा अड्डा-अदालत र सरकारी कार्यालयमा काम गराउन जाने सर्वसाधारण होस्, सबैले आश्वासनको पछाडि कुर्नुपर्ने बाध्यता छ। काम गर्नुभन्दा ओठे प्रतिबद्धताले टार्ने, 'आज होइन भोलि' भन्दै झुलाउने र सेवाग्राहीलाई मानसिक रूपमा थकाउने परिपाटीमाथि निबन्धकारले ठट्यौली तर मार्मिक शैलीमा व्यङ्ग्य कसेका छन्।
यसका साथै निबन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा देखिने ढिलासुस्ती र विषमतामाथि पनि कटाक्ष गरिएको छ। आणविक हतियारमा प्रतिबन्ध लगाउने कुरामा ठुला राष्ट्रहरूको लम्स्याइलम्सुङ (ढिलासुस्ती) र भौतिक उन्नति चरम चुलीमा पुग्दा पनि साधारण मानिसले दुई गाँस र दुई गज कपडाका लागि जिन्दगीभर पर्खनुपर्ने विषमतामाथि गम्भीर प्रश्न उठाइएको छ। 'पर्खाइ' ले गर्दा मानिस कसरी जुम्सो, पलायनवादी र कर्महीन बन्न पुग्छ भन्ने कुरालाई हास्य र व्यङ्ग्यको मिश्रण गरी प्रस्तुत गरिएको छ।
समग्रमा भन्नुपर्दा, 'पख्नोस्' निबन्धले समाजमा व्याप्त अकर्मण्यता, कुराले टार्ने जालेमाले परम्परा र काम नगर्ने संस्कृतिमाथि करारा व्यङ्ग्य गरेको छ। कुराले मात्र काम टार्ने प्रवृत्तिलाई छाडेर समयको महत्त्व बुझ्ने, उत्तरदायी बन्ने र कर्मशील समाज निर्माण गर्नुपर्छ भन्ने कालजयी सन्देश निबन्धले दिएको छ ।
११. दिइएको चित्र वर्णन गर्नुहोस् :
उत्तर:
दिइएको चित्रमा एउटा गाउँले परिवेश देखाइएको छ । चित्रमा एक जना महिला शिक्षिकाले सेतो पाटीमा 'सद्भाव' लेखेकी छन् । उनले पाटीतिर औँला देखाउँदै केही बोलिरहेकी छन् । उनको अगाडि विभिन्न जातजातिका मानिसहरू जमिनमा बसेर ध्यान दिएर सुनिरहेका छन् । तीमध्ये केही महिला, केही पुरुष र केही बालबालिका छन् । सबैजना मिलेर बसेका छन् र एकाग्रतापूर्वक शिक्षिकाको कुरा सुनिरहेका छन् । पृष्ठभूमिमा हरिया रुखबिरुवा र घरहरू देखिन्छन् । यो दृश्यले ग्रामीण समाजमा सद्भाव र एकताको सन्देश दिन्छ । सबै जातजातिका मानिसहरू मिलेर बसेको यो दृश्यले सामाजिक एकता र सद्भावको प्रतीक हो ।
१२. 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् :
उत्तर :
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
पेट्रोलियम पदार्थको मूल्यवृद्धि आज विश्वव्यापी समस्याका रूपमा रहेको छ । नेपालजस्तो आयातित पेट्रोलियम पदार्थमा निर्भर देशका लागि यो झन् गम्भीर चुनौती हो । पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्दा यसको सिधा प्रभाव आम उपभोक्तामा पर्छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, कृषि, उद्योग र सेवा क्षेत्रमा प्रत्यक्ष असर पार्छ । यसले गर्दा दैनिक उपभोग्य वस्तुहरूको मूल्य पनि बढ्छ र मुद्रास्फीति बढ्न जान्छ । यसले गरिब र मध्यमवर्गीय परिवारको जीवनयापनमा थप भार पर्छ ।
यस समस्याको समाधानका लागि वैकल्पिक ऊर्जाको विकास गर्नुपर्छ । सौर्य ऊर्जा, जलविद्युत् र वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जा स्रोतको प्रयोग बढाउनुपर्छ । सार्वजनिक यातायातको प्रयोग बढाउनुपर्छ र विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्नुपर्छ ।
१३. दिइएका शीर्षकमा निबन्ध तयार पार्नुहोस् :
नोट:
· (क) आर्थिक समृद्धिमा पर्यटन उद्योग
· (ख) मेरो जीवनको लक्ष्य
· (ग) नेपालको विकासमा जलस्रोतको भूमिका
(यी निबन्धहरू विद्यार्थीले आफैँ लेख्नुपर्ने हुन्छ)
१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) प्रश्नहरू :
· (अ) समीक्षात्मक सोच भन्नाले के बुझिन्छ ?
उत्तर: समीक्षात्मक सोच भन्नाले कुनै पनि विषयवस्तु वा कृतिका बारेमा गुण दोष छुट्याउन गरिने विवेचनात्मक सोच हो ।
· (आ) समीक्षात्मक सोचले विद्यार्थीलाई के कुरामा आत्मनिर्भर बनाउँछ ?
उत्तर: समीक्षात्मक सोचले विद्यार्थीलाई जीवनपर्यन्त सिकाइका लागि आत्मनिर्भर बनाउँछ ।
· (इ) समीक्षात्मक सोचको प्रयोग कहाँसम्म हुनु जरुरी छ ?
उत्तर: समीक्षात्मक सोचको प्रयोग आधारभूत शिक्षादेखि उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीमा हुन जरुरी छ ।
· (ई) समीक्षात्मक सोचले के कुरामा फाइदा पुर्याउन सक्छ ?
उत्तर: समीक्षात्मक सोचले विद्यार्थीलाई प्रतिबिम्बात्मक रूपमा चिन्तन गर्न, आफ्नो व्यक्तिगत सिकाइको जिम्मेवारी लिन, तर्कको सङ्गति बुझ्न, ध्यान दिएर सुन्न, आत्मविश्वासका साथ बहस गर्न र जीवनपर्यन्त सिकाइका लागि आत्मनिर्भर बनाउन मदत गर्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
· (अ) 'विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छन् ।' वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस् ।
उत्तर: विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छ ।
· (आ) 'शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुनुहुन्छ ।' वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस् ।
उत्तर: शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुन्छ ।
· (इ) जिम्मेवारी लिन्, समीक्षात्मक् सोच् र गुण् दोष् छुट्याउन गरिने जस्ता पदावलीका हलन्त अजन्त प्रयोगसम्बन्धी त्रुटि सच्याई लेख्नुहोस् ।
उत्तर: जिम्मेवारी लिन, समीक्षात्मक सोच र गुण दोष छुट्याउन गरिने
१५. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
उत्तर: विद्यार्थीले कक्षामा अरूको लेख रचनाको नक्कल गरी लेखक बन्न खोज्ने व्यक्तिप्रति व्यङ्ग्य गर्दै हास्यव्यङ्ग्यात्मक प्रस्तुति दिनुपर्ने हुन्छ ।